(नियात्रा) पाथीभराका अविस्मरणिय रमणिय पलहरू
(नियात्रा)
पाथीभराका अविस्मरणिय रमणिय पलहरू
सरण राई
पाथीभरा भन्नासाथ म २०६९ सालको असोज महिनामा पुग्छु । असोजको अन्तिमतिर म धरानबाट काठमाडौं गएको थिएँ । अकस्मात मेरो पुरानो साथी माधव प्रधानको फोन आउँछ र सोध्नुहुन्छ “ साहित्यिक कार्यक्रममा ताप्लेजुङ जानुहुन्छ ? गरिब देशको गरिब देशवासीहरूमध्येकै सर्वसाधारण आम मान्छे मैले धरानबाट धेरै नजिक रहेको पाथीभरा, ताप्लेजुङ र पाँचथर टेक्ने मौका पाएको थिइनँ । यो एउटा अवसर ठानेर खुसीसाथ “जाने” भनेँ ।
२०६९ असोज २९ गते बिहान काठमाडौंबाट एउटा बसभरि नै साहित्यकारहरू तुल्सी भट्टराई, ह्रि गौतम, माधव प्रधान, डा. खेम कोइराला बन्धु, रमेश शुभेच्छुक, बसन्त बस्नेत, अनुपमा रेग्मी, सविन श्रेष्ठ, होम सुवेदी, निर्मला गिरी र अन्य साहत्यिकारहरू (एउटा ठूलो बसभरी) लगायतको साहित्यिक यात्रा ताप्लेजुङतर्फ सुरु भयो । त्यही यात्रामा म पनि समावेश भएँ । त्यतिबेला मैले चिनेको माधव प्रधान एक जना मात्र थिए । तर बिस्तारै सबैसित परिचय हुँदै गयो र साहित्यकारको नाता सम्बन्धका कारण सबै आत्मीय मित्र हुँदै गए । बिर्तामोडमा कृष्ण धरावासीसित पनि भेट भयो तर उनी ताप्लेजुङ जान नसक्ने जानकारी भयो । झापाका केही अरू साहित्यकारहरू थपिए । ३० गते बेलुकि ताप्लेजुङ फुङलिङ बजार पुगियो । कात्तिक १ र २ गते साहित्यिक कार्यक्रम उद्घाटन र एउटा स्मृति ग्रन्थ विमोचन कार्यक्रम भयो । ३ गते कविता गोष्ठी थियो । तर त्यही दिन थाहा भयो सानो गाडि रिजर्ब गरेर केही साहित्यकारहरू पाथीभरा जाने भएका छन् र इच्छुकहरूले सम्पर्क राख्न सुचित गरियो । बल्ल यो पाको उमेरमा ताप्लेजुङ आइएको छ । पाथीभरा जाने अवसर छ । कविता गोष्ठी कि पाथीभरा ? पुरानो साथी गोपाल गुरागाईको सल्लाह र सहयोगमा पाथीभरा नै जाने भइयो ।
पाथीभरा जाने टोलीको नेतृत्व प्रा.डा. तुल्सी भट्टराईले गर्नु भएको थियो । सो टोलीमा उहाँको धर्मपत्नी, ह्रि गौतम र धर्मपत्नी र छोराछोरीहरू, बेञ्जु सर्मा, अनुपमा रेग्मी, नरेश श्रेष्ठ, गोपाल गुरागाई र म लगायत १५÷ १६जना समावेश भएका थियौँ । सुकेटार एयरपोर्टमा हामी सबैले समूहगत तस्वीर खिचेर पाथीभरा यात्राको थालनी ग¥यो । अब यात्राको रोमाञ्चकता र आनन्दमा हामी भुलिन थालेका हुन्छौँ । त्यतिबेला तल्लो फेदिसम्म मात्र गाडि जान्थ्यो । गाडिको निरस वातावरणलाई पनि हामी सबैले सामुहिक रूपमा छोटा छोटा गीत गाएर रमाइलोमा परिणत ग¥यो जसले कच्ची सडकको खाल्टाखुल्टीको अफ्ठ्यारो पनि थाहा पाएनौँ । सामुहिक गीतले त्यस यात्रामा रहेका हामी बीच सौहार्दता र अपनत्वबोध महसुस गराएर एकआपसमा घुलमिल हुन मद्दत ग¥यो । लौरो सबैले लिए, मलाई भने लौरोबारे थाहा थिएन । केही उकालो चढेपछि केही समयपछि विश्राम गर्दा टोलीनेताले सबैलाई अदुवाको टुक्रा र चकलेट दिएर लेक लागेमा केके गर्नुपर्छ भन्ने जानकारी दिनु भयो । सास फेर्न गा¥हो भएमा अदुवा चपाउने र बसेर केही बेर आराम गर्नुपर्ने कुरा पनि बताउनु भयो ।
तल्लो फेदीबाट केही माथि चढेपछि लक्ष्मण गाम्नागेको छोरालाई उल्टी भएकोले उहाँ र छोरा तल्लो फेदीमा नै बस्नु भयो । अरु हामी माथिल्लो फेदिमा पुगेर त्यो दिन बास बस्यौँ । चिसो लेकाली हावाबतास शितल स्वच्छ वातावरणले मन प्रफुल्ल भएर आईरहेको थियो माथिल्लो फेदि पुगेदेखिनै ।
बेलुकि नै गोपाल गुरागाई, नरेश श्रेष्ठ र मैले ४गते बिहानै १.०० बजे नै उठेर पाथिभराको उकालो चढेर मन्दिर पुग्ने सल्लाह गरेको थियौँ । तर बिहान २.००बजेमात्र हिड्न सक्यौँ । त्यति बिहानै पनि मानिसहरू पाथीभराबाट ओरालो झरिरहेका थिए । पहिलोपल्ट हामी गईरहेका हुँनाले हामी ती भेटेका मानिसहरूलाई सोध्थ्यौ— “कति समयमा हामी पुग्छौँ ?” “एक घण्टामा” जवाफले उत्साहित भएर स्वा स्वा हुँदै उकालो चढ्थ्यो । एक घण्टा बितेपछि पनि पुगिएको छैन, फेरि सोध्छौँ जवाफ फेरि “एक घण्टा लाग्छ ।” ४.३० भई सक्यो, पाथीभराको टाकुरा देखिए पनि ५.०० बजे पुग्न मुस्किल सम्झेर गोपाल सर र मैले साथी नरेशलाई “तपाईँ जानुहोस् !” भन्यौँ । उनी त कुदेर उकालो लागिहाले । हामी पनि ५.०० बजे बल्लतल्ल पुग्यौँ ।
हामी पुग्दा त फोटोग्राफर नरेशजी खुशी हुँदै लडिलडि सुतिसुति सुनौला हिमालका फोटाहरू खिचिरहनु भएको थियो । हामी पनि त्यहाँबाट देखिने अलौकिक प्राकृतिक सुनजस्तै सुनौला हिमालहरूका दृश्यहरू देखेर मन्त्रमुग्ध भयाँै । यस्तो सुन्दर दृश्यालोकन देख्न पाएको त्यो रमाइलो क्षण पाथीभराको अविस्मरणीय क्षण भयो जीवनभर । पाथीभरा मन्दिर नजिक रहेको किरात माङहिमको डाँडामा हामी चढ्यो । हामीभन्दा मुनि हिमालहरू ! सगरमाथा, कुम्भकर्ण, गणेश हिमालका श्रृङ्खलाहरू सुनौला भएका । पुर्व फर्के पनि, पश्चिम फर्के पनि, जता हेरे पनि सुनौला हिमालहरू, हामी माथि डाँडामा बसेर आफूभन्दा मुनि रहेजस्ता देखिएका सुनौलो हिमाल देखिरहेको अनुपम मनमोहनी मनमोहक आश्चर्यजनक दृश्यहरूले आँखा पवित्र, मन प्रफुल्ल ! एकप्रकारको तृप्ति मनभित्र अनुभूत हुन पुग्छ । नरेशजीले कति धेरै हिमालको तस्वीरहरू खिचिसक्नु भएको थियो । हामीले पनि खिच्यौँ । नरेशजीलाई पनि हाम्रा तस्वीरहरू खिच्न लगायौँ । त्यहाँ खिचिएका सबै फोटाहरू अनुपम थिए तर जति पटक कम्पुटर बिग्रियो ती धेरै फोटाहरू डिलिट भए । तापनि केही फोटाहरू भने अझै मसित रहेको छ जुन हेर्दा अझै पनि आनन्दबोध हुन्छ ।
करिब २० मिनटको समय बितेको हामीलाई थाहै भएन । हामीहरू हिमश्रृङ्खलाभन्दा माथि, हिमालहरू तल तल सुनौला रङका ! हेर्दाहेर्दै भुँइकुहिरो मास्तिर उठ्दै आएर हिमालहरू छोपिन थाल्छन् । अरु हाम्रो टोलीका साथीहरू आइपुग्दा त हिमाल देखिन पनि छोडेकोले त्यसबारे उहाँहरूलाई देखाउने कुरा पनि भएन । उहाँहरू पनि पाथीभरा देवीको दर्शन र डाँडा चढ्दाको परिश्रमबाट टाकुरा आइपुग्न सफल भएकोमा प्रसन्न नै हुनुभएको थियो । यसरी पाथीभराको पहिलो यात्राको रमाइलो हाम्रो मनमा अमिट भएर बसेको थियो ।
सो यात्राको अलौकिक रमणीयताको चर्चा सुुनेर मेरी धर्मपत्नी लक्ष्मी पनि त्यहाँ पुग्न लालायित भएकीले दोस्रो पल्ट तिनीसँग पनि पाथीभरा पुगेँ । किरात राई बान्तावा खिमको ताप्लेजुङको कार्यक्रम सकिए पछि “हामी पाथीभरा पुगेर आउन्जेल तिमी ताप्लेजुङमा नै बस । विकट उकालो छ हिड्न सत्तैmनौ ।” मेले तिनलाई भनेको सुनेर बहिनी शिव बान्तावाले “सक्नुहुन्छ, भाउजुलाई पनि लानुपर्छ ” भनिन् । २०७० साल जेठ ११ गते शनिबारका दिन तिनले जाने इच्छा राखेपछि तिनलाई पनि लिएर हामी सातजना म, पत्नी लक्ष्मी राई, निर्मला राई, रेवतीरमण राई, श्रीशीशा राई, शिव बान्तावा र रिता राराहाङ राई पाथीभरा जान सुकेटारबाट जिप्सी जिप गाडिमा पाथीभरा गयौँ । अघिल्लो दिन पानी परेकोले सडक हिलाम्मे थियो, कुनै कुनै ठाउँमा त गाडिको पूरै चक्का हिलोमा डुबे पनि फोर ह्वीलर गाडिले आफ्नो शक्ति लगाउदै तल्लो फेदि पु¥यायो ।
लौरो (लट्ठी)ले उकालोमा दिने सहारा मैले पनि अघिल्लो यात्रामा थाहा पाएकोले हामी सबैले एक एकवटा लौरो लियौँ । खाजा खाने दोकानमा लौरो निशुल्क पाइने रहेछ । लिएर गयो, फर्कदा त्यही छोड्यो । तर भोलिपल्ट फर्कदा तल्लो फेदिमा पनि गाडि नपाइएकोले सुकेटार र तल्लो फेदिको बीच बााटोसम्म हिड्नु परेकोले लौरो साथैमा हामीले लिएर आयौँ । ती लौरोहरू ताप्लेजुङमा नछाडि लक्ष्मी र मैले घरै लिएर आयौँ । अहिले तीे लौराहरू कोठाको चेपमा ठडिएको अवस्थामा रहेकै छ पाथीभरा र पत्नीको सम्झना दिलाउँदै ।
दोस्रो पटकको पाथीभरा यात्रा अविस्मरणीय हुने नै भयो । यसका केही कारणहरू मेरी धर्मपत्नी मेरो साथ यात्रामा रहनु र अलिक अस्वास्थ भएकी कारण तिनी पाथीभरा पुग्न सक्छिन् भन्ने मलाई विश्वासै थिएन । मैले “नजाऊ” भन्दा पनि तिनले जाने इच्छा जाहेर गरे पछि जहाँसम्म हिडेर पुग्न सक्छिन् त्यहाँसम्म पुगेर फर्किने मनसाय साथ म तिनलाई लिएर जान राजि भएको थिएँ ।
त्यो यात्रामा तल्लो फेदिमा पुगेपछि एउटा दोकानमा खाजा र तोङवा खाएर आधि घण्टा जति नाचगानमा हामीले रमाइलो ग¥यो । यस यात्रामा पहिलो पल्ट छातेढुङ्गा देख्यौँ र फोटो खिच्यौँ । त्यो दिन बेलुकि माथिल्लो फेदिमा बास बस्यौँ । भोलि पल्ट बिहानै करीब १.०० बजे नै उकालो लाग्यौँ । टर्च लाइट हामी सबैको आफ्नो आफ्नो थियो । सुरुमा सँगसँगै हिँडेपनि पत्नीको कछुवा गतिले गर्दा ‘सबैलाई हिँड्दै पर्खदै जानुहोस’् मैले भनेँ पछि अरुहरू अगाडि हिँडे । ‘निकै बेरमा पनि हामी आएनौँ भने तपाईँहरूले हामीलाई नपर्खि पुगेर फर्किनु होला हामी माथिल्लो फेदिमा हुने छौँ’ भन्ने पनि मैले भनेको थिएँ । बिस्तारै बिसाउदै उकालो चढ्दै गयौँ । हामी पति पत्नी पनि जेठ १२ गते आइतबारका बिहान ७.३०बजेतिर पाथीभरा गेट पुग्यौँ, हर्षित भयौँ । थकान अचानक उमङ्गमा परिणत भयो । मन्दिर परिसरबाट हामीलाई पर्खिरहेका भाइबहिनीहरू पनि खुसी भए । हाम्रा लागि त्यहाँ पुग्नु सगरमाथाको चुचुरो पुग्नु सरह आनन्दको त्यो ऐतिहासकि क्षण थियो ।
पहिलो र यो दोस्रो पाथीभरा यात्रामा निकै फरक आईसकेको अनुभुति पाथीभरा क्षेत्रको गेटबाट नै महसुस हुन थालेको थियो । पहिलो पटक आउँदा गेटमै प्रसस्त भक्तजनले चढाएको सिक्का र नोटहरूको डङ्गुर रासहरू लागेको थियो । बाटाका देवी देउताका मन्दिर र देउरालीहरूमा पनि त्यस्तै पैसाको थुप्रो थियो । ती पैसा कसैले पनि लादैनथे, चलाउदैन थिए, लगेमा अनिष्ट हुन्छ भन्ने विश्वास कायम रहेको थियो । तर यसपाली त्यस्तो थुप्रो थिएन र ती चढाएका पैसाहरूको व्यवस्थापन समितिले गर्न थालेकोले त्यस्तो थुप्रोहरू थिएन र देखिएन । मन्दिरबाट पनि आफूखुसी पछि दोब्बर फिर्ता गर्ने गरि केही पैसा लान सकिने वा आफूले चढाएको रकमको आधा रकम झिकेर लगि सावाको रूपमा प्रयोग गरि ब्यापार उद्योग गरेमा शुभ्यफाब्य हुने व्यवस्था थाहा पाएर हामीले पनि चढाएको रकमको आधि रकम पत्नीले कागजमा बेरेर अलग्गै ल्याएकी थिइन् । त्यस पटक अबेला पुगेकोले हिमाल अलिकति टुप्पो मात्र केही देखियो सुनौलो नभई सेतो । त्यति नै देखिएको भएपनि चित्त बुझायौँ ।
फर्कदा भने जेठ लागिसकेको भए पनि गुँरासका रङ्गिचङ्गि फूलहरूले डाँडा काडा नै यति धेरै सुन्दर रमणीय बनाएको थियो कि त्यो गुराँसको बोटमा फोटो खिचा,ैँ त्यो अर्कोमा पनि खिचिहालौँ भन्ने पारेकाले फोटो खिच्दै ओरालो झरेकाले बाटो काटेको पत्तै पाएनौँ । विविध रङका गुराँस, चिमाल — सेता, राता, पहेला, निला, बैजनी खाल खालका । धेरै प्रकारका गुराँस पहिलो पल्ट देख्न पाउनु र झल्याक झुलुक केही लेकाली दुर्लभ चरा देख्नु पनि दोस्रो पाथीभरा यात्राको विशेषता थियो जुन जीवनमा भुल्न चाहेर पनि भुल्न सकिदैन ।
माथिल्लो फेदिसम्म हामी सातैजना बात मार्दै गीत गाउँदै र फोटोहरू खिच्दै सँगसँगै झ¥यौँ । खाजा खाएर पहिला गएर गाडिको बन्दोबस्त मिलाउन भनेर अरु पाँच जना हामीलाई छोडेर अगाडि झरे । हामी पतिपत्नी पनि ठाउँ ठाउँमा देउराली बनाउँदै र अरुले बनाएको देउरालीमा ढुङ्गो थप्दै तल्लो फेदि आइपुग्यौँ । गाडि थिएन, आधि बाटो हिँडेर नै फर्कनु परेकोले राती मात्र ताप्लेजुङ पुग्यौँ ।
२०७१ बैशाख १५ गते सोमबार तेस्रो पटक पनि पाथीभरा पुग्ने मौका जु¥यो । भानु द्वीशतवार्षिकी महोत्सवको सिलसिलामा प्रा. राजेन्द्र सुवेदी र उहाँको धर्मपत्नी, प्रा. डा. ब्रतराज आचार्य, प्रा. डा. मोतीलाल पराजुली, माधव प्रधान, म, रमेश शुभेच्छुक र अमिरा अधिकारीको साहित्यिक समूहले ताप्लेजुङ आएको मौकामा पाथीभरा पनि जाने सल्लाह ग¥यौँ । पहिलो पाथीभरा यात्रामा हेरेको सुनौलो हिमाल हेर्ने मेरो रहर पुगेकै थिएन । त्यो रहर यसपाली चाहीँ पु¥याउने हेतुले १४ गते बेलुकि नै पाथीभराको टाकुुरामा पुगेर बास बस्ने सल्लाह ग¥यौँ । टाकुरामा आवासको व्यवस्था भएपनि खानाको व्यवस्था नभएको कुरा थाहा पाएर माथिल्लो फेदिमा नै चिउरा र भुजिया बेलुकिको खानाको लागि किनेर लगेका थियौँ । पानी भने त्यतै पाइएला भनेर तीन चार बोटल मिनरल वाटर मात्र बोक्यौँ । उकालोमा चढ्दा नै दुईटा सकियो बाँकि रहेको दुईटाले दबाई खान र मुख रसाउन मात्र प्रयोग गरेर चिसो रात दाउरा बालेर धर्मशालामा रात बिताएको अनुभव अविस्मरणीय नै भयो । धर्मशालामा कोठा मात्र पाइने रहेछ, ओढ्ने ओछ्याउने भाडामा लिनु पर्ने रहेछ, लियौँ तर सिरानी रहेनछ । सिरानीमा सुत्ने बानी परेका हामीले आफ्नै जुत्ताको सिरानी हालेर सुतेको घटना बिर्सन नसकिने भयो । म बिहानै ४.४५मा नै हिमाल हेर्ने लालसाले उठेर बाहिर निस्केर हेर्दा पनि हिउ कुहिरोले आधि छोपिएको थोरै हिमाल मात्र देखियो । अरुलाई पनि बोलाएर हेरियो तर कात्तिकमा देखिएको जस्तो देख्न पाइएन । पाथीभरा मन्दिरको माता पाथीभरा देवीको दर्शन र जोगीहरूले बालेको धुनीको आगो ताप्दा पाइएको आनन्द तेस्रो पाथीभरा यात्राको अविस्मरणीय पल थियो ।
यसरी नेपालका सुन्दर ठाउँहरूमध्येको एउटा पाथीभरा तीन पल्ट पुग्दा फरक फरक अनुभूति सङ्गाल्न पुगेँ । माता पाथीभरा देवी सम्बन्धी किम्बदन्ती, आस्था र विश्वास आफ्नो ठाउँमा यथावत रहेकै भएपनि पहिलो चोटि जाँदा पाथीभरा परिसरको माथिल्लो फेदीमा रहेको गेटमा नै सिक्का र नोटको रासका रास उरुङ थुप्रिएको थियो र माथि मन्दिर र देउरालीहरूमा पनि त्यस्तै उरुङ थुप्रिएको थियो । त्यतिबेला यदि कसैले ती सिक्का नोटहरू लगेमा अनिष्ट हुने डरले कसैले लादैनथे । तर दोस्रो पटक जाँदा त्यस्ता सिक्का र नोटहरूका रासहरू थिएनन् । पाथीभरा मन्दिर व्यवस्थापन समितिले नै ती सिक्का र नोटहरू जम्मा गरेर बैंकमा राखेको भन्ने सुनियो । पाथीभरा मन्दिरमा चढाएका पैसामध्येबाट पनि पछि दोब्बर बुझाउने गरि केही रकम सापटि लान सकिने व्यवस्था भएको कुरो पनि सुनियो । तेस्रो पटक जाँदा भने यस्ता कुराहरूमा कुनै चासो राखिएन । तापनि तीन वषैकै अवधिमा मानिसहरूको विश्वासमा भने निकै परिवर्त न आएको देखियो ।
नेपालमा आन्तरिक पर्यटनको कुरा बिचार्दा आन्तरिक पर्यटन भनेकै देवी देउराली मन्दिर, गुम्बाहरूको दर्शन र भ्रमण रहेछ । पाथीभरा, छिन्ताङ, सभापोखरी, साप्सु, हलेसी, मनकामना, बिन्ध्यावासिनी, मुक्तिक्षेत्र आदि स्थानहरूको भक्तजन दर्शनार्थीहरूको यात्रामा नै आन्तरिक पर्यटन सिमित रहेको देखिन्छ ।
पाथीभरा दोस्रो पटक जाँदा असक्त मानिसलाई डोकोमा बोकेर मन्दिर पु¥याई देवीको दर्शन गराउने पनि केही भरियाहरूको पेसा रहेको कुरा थाहा पाइयो । यसरी मान्छेलाई बोकेर लैजानेले तौलको हिसाबले रकम लिने कुरा पनि सुनियो । भाकल गरेर हिड्न नसक्नेहरूका लागि यस्तो सुबिधा उपलब्ध हुने गरेको थियो । अहिले त माथिल्लो फेदिसम्म नै गाडि पुग्छ रे । मन्दिरसम्म पुग्नका लागि केबलकार पनि बन्ने कुरा सुनिन्छ । जे होस् समयापेक्ष परिवर्तन हुनु सकारात्मक नै हो ।
नेपालमा रहेका अनगिन्ती रमणीय पहाडहरू विकासका मेरुडण्द बन्नसक्ने कुरा पाथीभराबाट प्राप्त अनुभवले पनि बताउछ । गणतन्त्र आईसकेको अवस्थामा पनि राष्ट्रिय सोचमा भने आमूल परिवर्तन आएको छैन । आजसम्म हामीलाई पछाडि पारीरहेको सडेगलेको पुरानो सोचबाट मुक्त भई नसकेको अवस्थाले गर्दा राष्ट्रिय सोच र राष्ट्रिय सहमति बन्न सकेको छैन । अब चाहीँ समग्र देशवासीलाई समेट्ने राष्ट्रिय सोच र राष्ट्रिय सहमति निर्माण गरेर पाथीभराजस्ता हाम्रा अनगिन्ती सुन्दर स्थानहरूका समुचित विकास गरी देशका सर्वाङ्गिन विकास गर्न सकिने वातावरण आवश्यक भईसकेको छ ।
२०७८ जेठ १२ , धरान
साभार
मुन्धुम (मासिक),२०८२ चैत देखि २०८३साउन, पूर्णाङ्क २५२, २५३,२५४,२५५,२५६
Comments
Post a Comment